विशद
ऊ इँटामानव
संसारकै ठूलो आतंककारी
किनकि उसले बोक्ने इँटा
सधै रातो हुन्छ ।
ऊ मोहम्मद मियाँका लािग
इँटाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पिन
इँटाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसी मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।
मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौं वर्षदेिख
चुपचाप रगत बगाइरहेका
लाखौं इँटामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता इँटाहरु
तर ऊ इँटामानव
आफैले बाक्ने इँटाको
रातो रङसँग
बेखबर छ ऊ ।
नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाइन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बास छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बास दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता इँटाले बनेका कुरुप मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता इँटाले बनेका राक्षसी मस्जिदहरुमा
तर आफैले बोक्ने इँटाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।
ऊ इँटामानव
संसारकै ठूलो आतंककारी
किनकि उसले बोक्ने इँटा
सधै रातो हुन्छ ।
No comments:
Post a Comment