नारायण निरासी
भारी बोक्दछु हर्षले तर कतै मागेर नै खान्नँ म
सिङ्गो विश्व अटाउने मुलुक यो घाडी कतै जान्नँ म
यो नेपाल रहे रहन्छु म सधैं भन्ने कुरा भुल्दिनँ
जे गर्नेछु म देशको हित हुने भन्दा अरु गर्दिनँ
मान्छे ईश्वर हुन् भनी म त सधैं पुज्थेँ अझै पुज्दछु
मान्छेकै हितमा म रक्त पसिना पोख्नै परे पोख्दछु
माटोको ममता भुलेर कहिल्यै वाचाहरु तोड्दिनँ
वैरी सामु परे म लड्छु जहिल्यै लाछी बनी झुक्दिनँ
नेपाली जनता र देश नभए आपैष यहाँ बाँच्दिनँ
जो हेप्छन् तिनको सधैँ शरणमा पर्ने कुरा मान्दिनँ
आफै बाँच्दछु आत्मनिर्भर भई झोली कतै थाप्दिनँ
जित्थेँ जित्दछु जित्छुजित्छु जहिल्यै कैलेकहीँ हार्दिन
कर्णाली कमला तमोर अनि त्यो तादीसँगै बग्छु म
मिच्ने कोसिस गर्छ जो दशगजा त्यस्तासँगै लड्छु म
बोकी राख्दछु काँधमा र शिरमा नेपालको गौरव
काखी च्यप्दछु च्याप्छु पाण्डवहरु खेदेर ती कौरव
निद्रामा हररातमा म सपना नेपालकै देख्दछु
लागे सङ्कटकाल यो हरघडी जागेर नै बस्दछु
किल्लामा बलभद्रझैं दिनदिनै रक्षा गरी रुङ्दछु
के माग्छस् तँ भने म अन्तिम घडी नेपाल नै माग्दछु
घुर्कोली-८, सर्लाही
No comments:
Post a Comment