Wednesday, December 9, 2009

संविधान

बन्धुविक्रम क्षेत्री

महोदय !
हामीले उहिल्यै जलाएका थियौं
तिमीले तिम्रो लागि बनाएको संविधान
थोत्रो घरको चुहिने छानो जस्तो तिम्रो संविधान
तिम्रो थियो हाम्रो थिएन
त्यसैले उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
मान्छेलाई जनावर बनाउँथ्यो
जनावरलाई मान्छे देख्थ्यो
मानववस्तीलाई जङ्गल भन्थ्यो
आँखा देख्नेलाई पट्टी लगाइदिन्थ्यो
त्यसैले बुढो बहिरो र अन्धो भएको
त्यो छद्मभेषी संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
सचेतलाई अचेत बनाउँथ्यो
अन्न हैन गोली खा भन्थ्यो
मानिसलाई पशु बनाउँथ्यो
अनि मस्त निदाउन लगाउँथ्यो
त्यसैले भयानक आँधीपछि ब्यूँझिएर
त्यो छलकारी संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
वेरोजगारलाई कमारा कमारी बनाउँथ्यो
भूमिहीनलाई भूमिबाटै लखेट्थ्यो
छोरालाई लगेर पहरेदार बनाउँथ्यो
छोरीलाई लगेर वेश्यालयमा राख्थ्यो
त्यसैले हाम्रो सर्वस्व लुटेपछि
त्यो लुटेरा संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
प्रजातन्त्र भन्थ्यो र शाहीतन्त्र दिन्थ्यो
मानवअधिकार भन्थ्यो र प्रतिबन्ध लगाउँथ्यो
वस्ती हडप्थ्यो र दरबार बनाउँथ्यो
सोधपुछ गथ्र्यो र वेपत्ता बनाउँथ्यो
स्वतन्त्र छौ भन्थ्यो र हत्कडी लगाउँथ्यो
त्यसैले मध्ययुगतर्पु फर्काएपछि
त्यो फासिष्ठ संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
महायज्ञ गरेर अन्न जलाउँथ्यो
स्वअभिनन्दन गरेर पुूल चढाउँथ्यो
बलि चढाएर देवता खुसी पाथ्र्यो
होम जप गरेर शान्ति ल्याउँथ्यो
त्यसैले परम्परावादी र थोत्रो भएर
त्यो अमानव युगे संविधान उहिल्यै जलायौं हामीले
महोदय !
तिमी अझै त्यही संविधानको मन्त्र जप्दैछौ
जसलाई मृत घोषित गरी उहिल्यै जलायौं हामीले
त्यसैले इतिहासको क्षतिपूर्ति लिन
अब हाम्रो संविधान हामी आफै बनाउँदैछौं ।

No comments:

Post a Comment